काठमाडौं, माघ २६ । आज विहान सिंहदरबारमा लागेको आगलागीको घटनाबारे अनुसन्धान गर्न समिति गठन भएको छ ।
घटनाको क्षति मूल्याङ्कनसहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समिति समेत गठन गरिएको हो । बिहान करिव ८ः३५ तिर खानेपानी मन्त्रालयमा आगलागी हुँदा मन्त्रीको कार्यकक्षमा मुख्य क्षति भएको थियो । उक्त आगलागिबाट ५० लाख बराबरको क्षतिको अनुमानसमेत गरिएको छ ।
उक्त क्षतिको अवलोकन एवं अनुगमन गर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह पुग्नुभएको छ । क्षतिको विवरण सुरक्षा निकायबाट लिँदै उहाँले सिंहदरबार परिसरको व्यवस्थापन यस मन्त्रालयमा भएको कारण उक्त मन्त्रालय पूर्ववत सञ्चालन गरी सेवा प्रवाह नियमित गर्न तत्काल मर्मत सम्भार कार्य गर्न निर्देशन समेत दिनुभयो ।
मन्त्री सिंहको निर्देशनपछि शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैबाट मर्मत कार्य शुरू गरेको निमित्त सचिव पद्म कुमार मैनालीले जानकारी दिनुभयो । साथै आगलागीबाट छानाको भाग र विद्युतीय सञ्जाल लगायतमा क्षति पुगेपछि शहरी विकासमन्त्री सिंह नेतृत्वमा मन्त्रालयबाट स्थलगत अवलोकन भएको हो ।













प्रतिक्रिया दिनुहोस्