संसदमा अध्यादेशसम्बन्धी खिरखिर सकिएको छ । सोसम्बन्धी विपक्षीको विरोधको बेलुनको हावा खुस्किएको छ । अध्यादेशसम्बन्धी खिरखिर सकिए पनि माओवादी सुप्रिमो प्रचण्ड सत्ताप्राप्तिको लागि कुनै न कुनै खिरखिर नगरी बाँच्न सक्ने कुरा भएन । अब उनको तीर विस्तारै संविधानले निर्क्योल गरिसकेको जातीय-क्षेत्रिय नारा उछाल्ने दिशातर्फ फर्कन थालेको छ ।
निर्मल भट्टराई
नेकपा (माओवादी)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेलाई लडाएर वर्तमान संसदको पुरै कार्यकाल सत्तामा बसिरहने तानावाना बुनेको थाहा पाएपछि देशका दुई प्रमुख पार्टी एमाले र कांग्रेसले सुझबुझपूर्ण ढङ्गले सत्ता सहकार्य प्रारम्म गरेका हुन् । देशमा देखिएको अराजकता, प्रतिगामी षडयन्त्र, आर्थिक अव्यवस्था र कूटनीतिक असन्तुलनलाई लोकतन्त्रको अकण्टक मार्गमा फर्काउन उनीहरूले यो साहसिक र दूरगामी प्रभाव पार्ने कदम चालेका हुन् ।
भन्न परोइन, माओवादी सुप्रिमो प्रचण्ड देशमा अस्थिरता सिर्जना गर्ने र त्यही अस्थिरताको जगमा सत्तामा पुग्ने रणनीतिमा थिए,छन् र रहिरहने छन् । आफूले सत्ता पाए क्रान्तिकारी र अग्रगामी कदम देख्ने तर अरूले पाए पश्चगामी देख्ने उनको दृष्टि सर्वत्र परिचित र आलोच्य छ । साथै देशका प्रमुख दुइ राजनीतिक पार्टी नेपाली कांग्रेस र नेकपा(एमाले)को सत्ता सहकार्यले तिनीहरूलाई आपसमा भिडाएर सत्तामा पुग्ने र टिक्ने प्रचण्डको रोडम्यापमा कालो पोतिएकोमा उनको बेचैनी कायम छ ।
आफूले नेतृत्व गरेको कम्युनिष्ट पार्टीलाई टुक्रा-टुक्रा हुनबाट जोगाउन नसकेका प्रचण्ड ०६४ को आफ्नो रापताप सम्झदै देश दौडाहामा छन् । आफ्नो पार्टी जोगाउन नसक्ने तर तिनै फुटेका पार्टीको ‘समाजवादी मोर्चा’ बनाउने प्रचण्डको कमजोर राजनीतिले प्रचण्डको मात्र होइन, सिंगो माओवादी खेमाको भविष्यलाई अन्धकारतर्फ धकेलिरहेको छ ।
अर्कातिर जनतामा विद्यमान निराशाको जगमा उदाएका रास्वपालगायतका दलहरू आफ्ना तिनै कमजोर अजेण्डा देखाएर ०८४ को चुनावी राजनीतिको रोटी सेक्ने तानावाना बुन्दैछन् । तर आफ्नै खराव विगतका कारण रवि लामिछानेलगायतका ‘नयाँ’ पाार्टीका नेताहरूको ‘बजार मूल्य’ दिन प्रतिदिन गिर्दो अवस्थामा छ । उनीहरू आफ्नो पार्टी विस्तारमा अससफल भएपछि धार्मिक सांस्कृतिक र खेलक्षेत्रमा हुने जमघटमा देशका प्रमुख लोकतन्त्रवादी नेताविरुध्द विभिन्न अवाञ्चित हर्कत गर्दै समाजमा तरङ्ग ल्याउने दुष्चेष्टा गर्दैछन् । एआइ निर्मित तथ्यरहित विभिन्न सामग्री सामाजिक सञ्जालमार्फत् जनमानसमा पुर्याएर आफ्नो अस्थित्व जी्वित रहेको देखाउँदै छन् ।
राजावादी प्रतिगामी शक्ति त विगतदेखि नै टाउको उठाउने विभिन्न हर्कत गरिरहेकै छन् । संवैधानिक, कानुनी र अन्य सबै हिसाबले उन्मूलन भएको राजतन्त्रलाई नेपालमा पु:नस्थापित गर्ने असंभव नारा उचालेर समाजका अमनचैन खल्वल्याउने दुस्प्रयास गर्दैछन् । अन्तिम राजा ज्ञानेन्द्रको र उनको परिवारको कुख्यातिका कारण राप्रपा लगायतका राजावादी शक्तिले जति टाउको फुटाए पनि राजतन्त्रको पुनरागमन संभव छैन । आफ्नो सत्ता स्वार्थको लागि प्रचण्ड-ज्ञानेन्द्रको गठजोडको बजारी हल्लामा सत्यता भए त्यसकोो सामना गर्न पनि लोकतन्त्रवादी नेपाली जनता तयारै छन् । यसमा पनि प्रचण्डको जिजीविषा व्यर्थ छ ।
संसद नचलेको वेला अति आवश्यक ऐन-कानुनको तत्काल व्यवस्था गर्न अध्यादेश ल्याउन सकिने संवैधानिक व्यवस्थानुरूप सरकारले सहकारी, भूमिसम्बन्धी अन्य केही जरूरी विषयमा छवटा अध्यादेश जारी गर्यो ।
प्रमुख प्रतिपक्षी क्रान्तिकारी प्रचण्डदेखि राजावादी राजेन्द्र लिङ्देनसम्म एउटै कित्तामा ऊभिएर ती अध्यादेशको विरोध गरे । उनीहरूको विरोध देख्दा लाग्दथ्यो मानौं सत्ता सहकार्य गरिरहेका एमाले-कांग्रेसलगायतका दलले नेपालको संविधान, कानुन सबै खर्लप्पै निलेका छन् । जारी भएका सबै अध्यादेश संसदबाट खासगरी आफू अलि बलियो भएको राष्ट्रियसभाबाट पारित हुन नदिन निकै ठूलो कसरत गरियो, जुन सफल हुन सकेन । अध्यादेशलाई निहुँ बनाएर एमाले-कांग्रेसको ०८४ सम्मको सत्ता सहयात्रामाथि धावा बोल्ने प्रचण्ड प्रयास विफल भएको छ ।
संसदमा अध्यादेशसम्बन्धी खिरखिर सकिएको छ । सोसम्बन्धी विपक्षीको विरोधको बेलुनको हावा खुस्किएको छ । अध्यादेशसम्बन्धी खिरखिर सकिए पनि माओवादी सुप्रिमो प्रचण्ड सत्ताप्राप्तिको लागि कुनै न कुनै खिरखिर नगरी बाँच्न सक्ने कुरा भएन । अब उनको तीर विस्तारै संविधानले निर्क्योल गरिसकेको जातीय-क्षेत्रिय नारा उछाल्ने दिशातर्फ फर्कन थालेको छ । देशमा शदीयौंदेखि कायम रहेको जातीय क्षेत्रिय सद्भावमा जहर घोल्ने उनको पुरानो प्रयास पु:न सक्रिय हुन थालेको छ । हतियार विर्सिसकेकालाई हतियार सम्झाउने, जातीय राजनीति छोडेर मूलधारको राजनीति गरिरहेकाहरूलाई पु:न ‘जातीय सत्ता’को लालच देखााउने प्रयास हुन थालेको छ ।
जे भए पनि नेपाली लोकतन्त्रले यी सबै समस्याको समाधान दिनेछ । किनभने लोकतान्त्रिक व्यवस्था नै त्यस्तो व्यवस्था हो, जसले आफैंले आफूलाई सुधार्न र शक्ति आर्जन गर्ने सामर्थ्य राख्छ ।
प्रतिक्रिया दिनुहोस्