जनता टाइम्स

२३ फाल्गुन २०८१, शुक्रबार १८:१९

नवनियुक्त इटालियन राजदूत र अध्यक्ष अग्रवालबीच भेटवार्ता


काठमाडौं, फागुन २३ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत एन्टोनियो बार्तोली र नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घका अध्यक्ष सञ्जय अग्रवालबीच भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा आज भएको सो भेटमा उहाँहरुबीच दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाका बारेमा छलफल भएको थियो ।

उक्त बैठकमा कोलकात्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेशकाजी श्रेष्ठ, नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे तथा सङ्घका बोर्ड सदस्यको उपस्थिति रहेको थियो । उहाँहरुबीच द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यावसायिक सञ्जाल विस्तार तथा प्रमुख क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको सङ्घले जनाएको छ ।

राजदूत एन्टोनियो बार्तोलीले पर्यटन, पूर्वाधार तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सङ्घका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारी प्रवद्र्धन गर्ने संस्थाको भूमिकाका बारेमा अवगत गर्नुभएको थियो ।