काठमाडौं, फागुन २७ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अहिले नेपालको पत्रकारिता क्षेत्र माथि पनि प्रश्न उठेको बताउनुभएको छ ।
मंगलबार सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको प्रथम उद्घाटन गर्दै बस्नेतले पत्रकारिताले सत्य, तथ्य, सन्तुलन र जबाफदेहिता वहन गर्नुपर्ने बताउनुभयो । यसमा सार्वजनिक सेवा प्रसारणको महत्त्वपूर्ण भूमिका हुने उहाँको धारणा छ ।
अध्यक्ष बस्नेतले अहिले गलत र भ्रामक सूचना प्रचार गर्ने प्रवृत्ति बढेको कारण पत्रकारिता क्षेत्र बदनाम भएको बताउनुभयो । ‘अहिले पत्रकारितामा निजी क्षेत्रले जबाफदेहिताको पुरै पाटो बिर्सिरहेको छ, पत्रकारिताको पहिलो पाटो नै जबाफदेहिता हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
नागरिक सर्वोच्चता र संवैधानिक गणतन्त्रको फल कसरी झुपडीसम्म पुर्याउन सकिन्छ भन्ने कुरामा पत्रकारिता क्षेत्रको ध्यान पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसलाई पत्रकारिताको एजेण्डा बनाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारी सेवामा रहँदा पनि नागरिक प्रतिको कर्तव्य र आफ्नो कर्तव्य भुल्न नहुने उहाँले बताउनुभयो । सबैभन्दा पहिला आफ्नो स्वाभिमान र देश प्रतिको दायित्व निर्वाह गर्नुपर्नेमा बस्नेतले जोड दिनुभयो । सबैले देश पहिला त्यस पछि अरू भन्ने सिद्धान्त अवलम्बन गर्नुपर्ने बस्नेतले बताउनुभयो ।
पत्रकारिताले तथ्यको आधारमा सत्य स्थापित गर्ने अभियान अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । आज मिस इन्फरमेसन र डिस इन्फरमेशनले समाजलाई गलत दिशा तर्फ लगेको बताउँदै उहाँले जनतालाई सही सूचना पुर्याउने कुरामा जिम्मेवार भएर पत्रकारिता क्षेत्र प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
पञ्चायत विरोधी आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भोगेको यातना र पीडा सुन्दा पनि आङ जिरिङ्ग हुने उहाँले सुनाउनुभयो ।
सिंहदरबार भित्र बसेर देश लुट्न कम्प्युटर र सिसी टिभीका तार काट्नेहरूबाट देश जोगाउनु पर्छ भनेर दुई पार्टीका नेताहरू आज एक ठाउँमा उभिनु भएको बस्नेतले बताउनुभयो । मुलुक स्थिरताको पक्षमा उभिँदा कसैलाई ज्वरो आउँछ भने त्यसको औषधि मिडियाले दिनु पर्ने उहाँको भनाइ छ ।
म बाहेक सबै सच्चिनु पर्छ, म बाहेक सबै रूपान्तरण हुनुपर्छ भन्ने रोग नेपालको हरेक क्षेत्रमा देखिएको बताउँदै पत्रकारिताले त्यसको सुधारका लागि काम गर्नुपर्ने बस्नेतको धारणा छ । पत्रकारिताले गलतलाई गलत र सहिलाई सही भन्न सक्नु पर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्