जनता टाइम्स

१ चैत्र २०८१, शनिबार ०७:३७

रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता


काठमाडौं, २ चैत्र । युक्रेनको ड्रोन आक्रमणबाट तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसले दाबी गरेको छ । रुसको दक्षिण–पश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसको दाबी रहेको बीबीसीले जनाएको छ ।
रुस र युक्रेनबीच युद्धविरामको सम्झौता गर्ने प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुग्दा रुस र युक्रेनले गएराति पनि एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका हुन् ।

यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति रुसी आक्रमणमा परी सात जना घाइते भएका बताएका बीबीसीको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले रातभर २८ युक्रेनी ड्रोन नष्ट गरेको जनाएको छ । यस्तै युक्रेनी वायुसेनाले रुसले रातभर २७ ड्रोन प्रहार गरेकोमा १६ वटालाई नष्ट गरेको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर आफ्ना केही शर्तहरू रहेको बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सम्झौतालाई बाध्य पार्न रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।