जनता टाइम्स

९ चैत्र २०८१, शनिबार १५:१२

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै


काठमाडौं, ९ चैत्र । काठमाडौं । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्नुहुने छ ।संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोली र पर्सिको लागि आवासको व्यवस्था गरेको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ ।

महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको लागि सबै तयारी पुरा कार्यक्रमको तयारीमा जुट्नु भएका संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो । ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भन्नुभयो ।
प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् ।

उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताउनुभयो । ‘ भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भन्नुभयो ।