जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार ०९:२८

पहिरोले सल्यान र सुर्खेत–हुम्ला सडक अवरुद्ध


काठमाडौं, २८ चैत्र । वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।कालिकोटको पचालझरना गाउँपालिका ८ जारकोटमा पहिरो खस्दा सुर्खेत–हुम्ला सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध छ । ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिनुभयो । यसैगरी सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानीमा खसेको पहिरोले जाजरकोट सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

‘ठूलो डोजर ल्याएर पहिरो पन्छाउने क्रम जारी छ,’ उहाले भन्नुभयो । सल्यानकै कपुरकोट गाउँपालिका ३ मा खसेको पहिरो भने पन्छाइसकेकाले यातायात आवागमन सामान्य रहेको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ पितृवाङ खोलामा आएको बाढीले अवरुद्ध भएको राप्ती राजमार्ग पनि खुलाइसकेको डिएसपी प्रमेश विष्टले जानकारी दिनुभयो ।