काठमाडौं, २९ चैत्र । भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ। दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने जानकारी दिनुभयो । त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्। त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जानकारी प्राप्त भएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्।
प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए। प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो। विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए। तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्