काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल जाँदै हुनुहुन्छ ।
राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।
सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल आउने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो । सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिनुभयो ।
एमालेले सभा गर्ने ठाउँ बुटवल मण्डपको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल अगाडि बाल उद्यान रहने खाली ठाउँ हो । बुटवल अन्तराष्ट्रिय सभा हल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल आयोजनाका एक कर्मचारीका अनुसार ३० हजार स्क्वायर फुट क्षेत्रफलको सभा हुने ठाउँमा बढीमा २० हजार मान्छे अट्छन् । सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस्