जनता टाइम्स

२९ चैत्र २०८१, शुक्रबार १४:२८

दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी


काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ । ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।