जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १६:४६

मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल


काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रदेशका दश जिल्लामा वषौँदेखि अधुरै रहेका योजनाको प्रगति निराशाजनक देखिएपछि उहाँले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको हो । मुख्यमन्त्री कँडेलले प्रदेशका पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय प्रमुखसहित निर्माण व्यवसायीसँग छलफल गर्नुभएको हो ।

ठेक्का लिएर वर्षौँसम्म योजना अधुरै छाड्ने कार्य उचित नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले काम नगर्ने भए ठाउँ खाली गर्न व्यवसायीसँग आग्रह गनुभयो । मन्त्री बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँमा ३५ योजना अधुरै अवस्थामा छन् । ठूला आयोजना अधुरै रहँदा प्रदेशको विकास निर्माणमा बाधा पुगेकाले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर छलफल गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षको समय अझै बाँकी रहेकाले तीव्र गतिमा काम गर्न व्यवसायीसँग आग्रह गर्नुभयो । प्रदेश सरकार निर्माण व्यवसायीलाई परेको मर्का र समस्या हल गर्न तयार रहेको उहाँको भनाइ थियो ।