जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १६:००

पुनर्निर्माण पछि चिटिक्क बन्यो खाँडादेवी मन्दिर 


रामेछाप, १७ जेठ । खाँडादेवी, रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक शक्ति पीठ । सयौँ वर्ष पुरानो जीवित इतिहास ।

विभिन्न कालखण्डमा ढल्दै, उठ्दै गरेको खाँडादेवी मन्दिर अहिले झकिझकाउ भएको छ । खाँडादेवी विकास कोषको पहलमा पुरातत्त्व विभागले पुरातात्विक हिसाबले खाँडादेवीको मन्दिर, पाटी, मन्दिर परिसर पुनर्निर्माण गरेपछि खाँडादेवी मन्दिर चिटिक्क परेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नं २ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिरको २०७० सालबाट खाँडादेवी विकास कोषले संरक्षणको काम सुरु गरेपछि पुरात्व विभाग लगायतका निकायसँग सहकार्य गरी मन्दिर निर्माणको काम गरिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । निर्माणको धेरै काम सकिएका भए पनि केही काम बाँकी रहेको र त्यसको लागि पहल भइरहेको तामाङ बताउनुहुन्छ ।

मन्दिर पुनर्निर्माण तथा प्रचारप्रसार भएपछि मन्दिरमा आउने दर्शनार्थीहरुको सङ्ख्या बढ्न लागेको छ । विगतमा दशैँ र चैते दशैँको बेलामा मात्र दर्शनार्थीहरुको भिड लाग्ने खाँडादेवी मन्दिरमा अहिले दैनिक दर्शन गर्न आउने मानिसहरूको भिड लाग्ने गरेको छ । अन्य दिनको तुलनामा शनिबार दर्शन गर्न आउनेहरूको विशेष भिड हुने खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकी बताउनुहुन्छ ।

खाँडादेवीलाई निक्कै पौराणिक मन्दिर मानिन्छ । यसको व्याख्या देवी भागवत महापुराणमा पनि गरिएको छ । यसै गरी शिवपुराणको हिमवत् खण्डमा पनि खाँडादेवीको महिमा चर्चा गरिएको छ ।

मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तर पनि सुरक्षित छन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ । अहिले खाँडादेवी विकास कोषले सबै काम गर्दै आएको छ ।

यो मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बन्दै गएको छ । दुवै धर्म मान्ने मानिसहरू यहाँ दर्शन र पूजा गर्न आउने गर्दछन् ।