जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार ००:४१

प्रेस माथि अदालतको अङ्कुश अस्वीकार्य : प्रेस चौतारी नेपाल 


काठमाडौं, २९ जेठ । प्रेस चौतारी नेपालले बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश तथा समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको कुरालाई ख्याल नगरी अदालतले त्यस्तो आदेश दिएको प्रेस चौतारी नेपालले जनाएको छ । ‘प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्याङ्कन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ, संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौँ यसर्थ, प्रेस चौतारी नेपालको दृढ विश्वास छ– सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ’, प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्साउनेछ । प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत स्वतन्त्रता तथा प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन प्रेस चौतारी नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको सङ्गठनले स्पष्ट पारेको छ । ।

सङ्गठनले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई अनुरोध  गरेको छ ।