काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ । केहीबेरमा विपक्षी दलहरूको बैठक बस्नेछ । विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् । एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको बताउँछन् । माओवादीका नेताहरू सत्तापक्ष लचक भए संसद्को अवरोध खोल्ने बताउँछन् । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए÷नभएको अनुसन्धान गर्ने गरी सरकारले आवश्यक निकाय वा संयन्त्र बनाउने प्रतिवद्धता जनाउने गरी सहमतिको प्रयास जारी छ । यसमा कांग्रेस, एमालेसँगै माओवादी पनि सहमत रहेको एमाले नेताहरूको दाबी छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानेको छैन । रास्वपाले संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने अडान लिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्