जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार १५:३७

स्थानीय तहका जनप्रतिनिधिले पार्टीसँग मिलेर विकासको काम गर्नुपर्छ : प्रदीप ज्ञवाली 


दमक, ३० जेठ । नेकपा एमालेको उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले झापाको दमक नगर कमिटीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले पार्टी माथि भइरहेको आन्तरिक बाह्य हमलालाई सामना गर्न हरेक नेता  कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीसँग समन्वय गरी विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
पार्टी कार्यकर्ताहरूले सङ्गठन निर्माणमा वैचारिक ढङ्गबाट लाग्न सकुन् भनेर प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा दमकको  भूगोलमा रहेका  एक सय बढी कार्यकर्ताको सहभागिता रहेको छ ।  प्रशिक्षणमा पार्टीको १० औँ  महाधिवेशनद्वारा पारित नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सामाजिक रूपान्तरणका लागि मार्क्सवादी विश्व दृष्टिकोण, पार्टीको कार्यशैली, पद्धति र अनुशासन लगायत विषयमा जानकारी गराइने बताइएको छ ।

शनिवार बेलुका सम्म हुने यो प्रशिक्षणमा पार्टी स्कुल विभागका सचिव घनश्याम कोइला, सदस्यहरू पर्शुराम मेघी गुरुङ, सुन्दर लामिछाने, केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं ४ का इञ्चार्ज गोविन्द थापा लगायतको उपस्थिति रहेको थियो ।