जनता टाइम्स

१२ आश्विन २०८२, आईतवार ०७:२१

घटस्थापनादेखि ११ गते सम्म दुई लाख ६७ हजारभन्दा बढीले उपत्यका छोडे


काठमाडौँ, १२ असोज । असोज ६ गते घटस्थापनाका दिनदेखि आजसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
अध्ययन÷अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ । नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिक रूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असोज ६ गते ९घटस्थापना० का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “काठमाडौँबाट बाहिरिनेको सङ्ख्या बढ्दो क्रममा छ । ठूलो सङ्ख्यामा नागरिक र सवारीसाधन बाहिरिन थालेपछि राजमार्गमा सवारी चाप बढ्दो छ ।” घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
यसैगरी घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् भने कूल एक लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौँ भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँका अनुसार यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ गएका र भित्रिएका यात्रुहरूको हो ।