काठमाडौं, असोज १२। नेपाल सरकारले जेन-जी (Gen-Z) युवाहरूको अगुवाइमा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहयोगस्वरूप २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को मिति २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइतेहरूको पहिचान तथा उपचार व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार, स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा तत्कालका लागि घाइतेलाई भैपरी खर्च वापत प्रति व्यक्तिलाई २० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ।
घाइते भएका व्यक्तिले उपचारका क्रममा प्रयोग गरिएको अस्पतालको बिरामी टिकटपुर्जा वा कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्नुपर्ने गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा आजैदेखि घाइतेहरूको परिचयपत्र वितरण कार्य सुरु गरिएको जानकारी दिइएको छ।














प्रतिक्रिया दिनुहोस्