जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार २१:५५

खाँडादेवी मन्दिरमा महाअष्टमीको दिन दर्शनार्थीको भिड


रामेछाप, असोज १४ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिरमा महाअष्टमीको दिन दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति रहेको खाँदेवी विकास कोषले जनाएको छ ।

फूलपातीको दिन करिब ५ हजार दर्शनार्थीले दर्शन गरेको खाँडादेवी मन्दिरमा महाअष्टमीको दिन ६ हजार बढी दर्शनार्थीहरुले दर्शन गरेको अनुमान गरिएको छ । बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मन्दिरमा दर्शन गर्नेहरूको भिड लागेको खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्दिरमा फूलपातीको दिन जस्तै महाअष्टमीमा पनि पञ्चवली र बली चढाउनेको पनि त्यतिकै भिड थियो । कार्यसिद्धिको कामना गर्दै खाँडादेवीमा गरेका भाकल पुरा भएपछि पञ्चवली, बलि पूजा सहित दर्शन गर्न आउने प्रचलन छ ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई सहज रूपमा दर्शनको वातावरण बनाउन खाँडादेवी विकास कोषले स्वयंसेवक परिचालन गरेको थियो । सुरक्षा व्यवस्थाको लागि प्रहरी पनि परिचालन गरिएको थियो । दर्शनार्थीहरुलाई लाइनमा राखेर दर्शनको व्यवस्था मिलाइएको विकास कोषले जनाएको छ ।

मन्दिरमा दर्शनको लागि रामेछाप जिल्ला भित्रका साथै काठमाडौं उपत्यका, छिमेकी जिल्लाहरू तथा तराइसम्मका दर्शनार्थीहरु आएका थिए । वर्ष भरि नै दर्शनार्थीहरु आउने खाँडादेवी मन्दिरमा बडादशैँको फूलपातीदेखि महानवमीसम्म दर्शनार्थीको ठुलो भिड लाग्ने गर्दछ । मन्दिरमा दर्शन गर्न आउनेको व्यवस्थापनदेखि मन्दिरको संरक्षण, व्यवस्थापन र पूजाको सम्पूर्ण काम खाँडादेवी विकास कोषले गर्दै आएको छ ।