जनता टाइम्स

१५ आश्विन २०८२, बुधबार २१:५३

प्रहरी महानिरीक्षक खापुङद्वारा बडादशैँको मौलो पूजा 


काठमाडौं, असोज १५ । प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्ले बडादश‌ैँको अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ।

परम्परागत रूपमा हुँदै आएको पूजा अर्चनामा आइजिपी खापुङ्ले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभएको थियो। सो अवसरमा मौलो पूजामा विशेष भूमिका निर्वाह गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवलदार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

पूजाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत उपस्थित प्रहरी अधिकारीहरूले मौलो परिक्रमा गर्नु भएकाे थिए। पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो। त्यस्तै, पुजारीबाट सहभागीहरूले टीका तथा प्रसाद ग्रहण गर्नु भएकाे थियाे ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुईवटा निशान रहेका छन्। मुख्य निशानमा सूर्य र चन्द्रबीच रामधनुषको चिन्ह अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्रको मात्र अंकन गरिएको छ। प्रहरी संगठनले राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने संवेदनशील कार्यमा सफलता प्राप्त होस् भन्ने कामनासहित निशान झण्डालाई पूजा गर्ने परम्परा रहेको छ।

नेपाल प्रहरीले विक्रम संवत २०११ सालदेखि निशान झण्डा प्राप्त गरेयता प्रत्येक वर्ष बडादशैँ र चैते दशैँमा मौलो पूजाको परम्परा निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। यसैअनुसार, आज देशभरका प्रहरी इकाईहरूमा रहेका मौलोमा पनि विधिवत् रूपमा पूजा सम्पन्न गरिएको प्रहरीले जनाएको छ।