कपिलवस्तु, असोज १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा शनिबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको यात्रुबाहक बस बिहान करिब ६ बजे दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा सवार ३६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको मृत्यु भएको भए पनि उनको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र सिंहले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल राजमार्गको सामान्य मोडमा पर्ने भएकाले बिहानको समयमा चालक निदाएर बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्