रौतहट, असोज १८ । कटहरिया नगरपालिका–२ रौतहटका दुई किशोर शनिबार साँझ चट्याङ लागेर ज्यान गुमाएका छन्। आज साँझ करिब ६:३० बजे स्थानीय हथियायी बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनापछि स्थानीयवासी र प्रहरीले दुबैजनालाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। निरन्तर वर्षासँगै चट्याङ, बाढी र डुबानका घटनाले जिल्लामा जनजीवन प्रभावित बनेको छ।
अविरल वर्षाका कारण रौतहटका धेरै बस्तीहरू डुबानमा परेका छन्। बस्तीका घरदेखि सरकारी कार्यालयहरू समेतमा पानी पसेको स्थानीयहरूले बताएका छन्। सडकमा पानी जम्दा आवागमन पनि अवरुद्ध भएको छ।
मौसम विज्ञान विभागका अनुसार पछिल्ला १२ घण्टामा रौतहटकै महेशपुरमा सबैभन्दा धेरै ३२६ मिलिमिटर वर्षा भएको छ। गौरमा ३०४.४ मिलिमिटर र गरुडामा २७०.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
अत्यधिक वर्षाका कारण स्थानीय तहहरूले उच्च सतर्कता अपनाएका छन् भने प्रहरी र सशस्त्र प्रहरी दल उद्धार र राहतका तयारीमा खटिएका छन्। जिल्ला प्रशासन कार्यालयले जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्