रामेछाप, असोज २० । लगातारको वर्षाले रोशी खोलामा आएको भीषण बाढीले फेरि बिपी राजमार्गमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण राजमार्गका विभिन्न भाग बगाउँदा अहिले यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार गत वर्ष बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरेर पुनः सञ्चालन गरिएको थियो । तर, यस वर्षको बाढीले त्यही अस्थायी सडक पुनः बगाएको हो । उहाँका अनुसार, खोलाको किनारमा बनाइएकाे साे अस्थायी सडक सबै बगाएकाे छ।
गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले बिपी राजमार्गका दर्जनौँ स्थानमा कटान र क्षति पुर्याएको थियो । त्यसपछि सडक विभागले माटो भर्ने, ढुंगा थुपार्ने र साइड कटिङ गरेर अस्थायी आवागमन सडक सञ्चालन गरेको थियो । तर, यस वर्षको अविरल वर्षापछि त्यही भाग फेरि बगाएको छ।
सडक बगिएपछि अहिले पूर्बबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्ने सवारीसाधनहरू पूर्ण रूपमा रोकिएका छन्। पूर्वका जिल्लाबाट काठमाडौं जान वा काठमाडौंबाट पूर्व फर्कन चाहने यात्रुहरूले अब दोलखाको चरिकोट हुँदै लामो बाटो रोज्नुपर्ने भएको छ, जसले यात्रा समय र खर्च दुवै बढाएको छ।
सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार बाढीको बहाव अझै पनि उच्च रहेकोले सडक तत्काल मर्मत सम्भव नभएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘खोलाको पानी घटेपछि मात्र मर्मत कार्य सुरु गर्न सकिन्छ, अहिलेको अवस्थालाई हेर्दा सडक सञ्चालन योग्य बनाउन कम्तीमा सात दिन लाग्छ।’
जैशीका अनुसार, बाढीले सडक कटान गरेर गत वर्षजस्तै संरचनात्मक क्षति पुर्याएको छ । बाढी नघटी डाभर्सन बनाउन सकिने अवस्था छैन ।
यता, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले अवरुद्ध स्थानहरूको स्थलगत निरीक्षण गरिरहेका छन्। वर्षा रोकिएलगत्तै मर्मत सामग्री र मेसिन पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्