जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार १४:०३

रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान सुरु


काठमाडौं, असोज २२। रामेछाप–काठमाडौं हवाई रुटमा नियमित उडान सुरु भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको संयुक्त पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गर्न थालेका हुन्।

पर्यटन सिजनमा रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेका भए पनि रामेछाप–काठमाडौं उडान लामो समयदेखि स्थगित थियो। असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहज आवागमनका लागि हवाई सेवा पुनः सुरु गर्न माग गरिएको थियो। उक्त मागलाई विमान कम्पनीहरूले स्वीकारेपछि नियमित उडान सञ्चालनमा आएको हो।

मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १ सय २५ किलोमिटर पर्छ भने चरिकोट हुँदै राजधानी पुग्दा करिब २ सय किलोमिटर दूरी पार गर्नु पर्दछ । राजमार्ग बारम्बार अवरुद्ध हुने समस्या र लामो यात्राको असुविधाका कारण हवाइ सेवा सञ्चालनकाे माग गरिएकाे थियाे ।

नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर, र शनिबार तारा एयरले काठमाडौं–रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्नेछन्।