इलाम, असोज २२ । अविरल वर्षासँगै गएको पहिरो र बाढीका कारण ठुलो जनधनको क्षति पुगेको इलाममा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ।
बुधबार युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले इलामको माई नगरपालिकाबाट राहत वितरण अभियान प्रारम्भ गरेको हो। बाढी र पहिरोले सबैभन्दा बढी प्रभावित माई नगरपालिका–७ चेप्टी गाउँका करिब ७० घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ।
बाढी र पहिरोले सो गाउँमा घर, खेतीयोग्य जमिन र आधारभूत संरचनाहरूमा ठुलो क्षति पुर्याएको स्थानीय बासिन्दाहरूले बताएका छन्। युवा संघको टोलीले प्रत्येक परिवारलाई एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मरमसला, पीभीसी, म्याट, लत्ताकपडा, ब्ल्याङ्केट, डस्ना, जुत्ता–चप्पल र त्रिपाल वितरण गरेको अध्यक्ष थेबेले जानकारी दिनुभयो।उहाँका अनुसार इलामका सबै स्थानीय तहमा राहत वितरण विस्तार गर्ने तयारी भइरहेको छ।

बाढी र पहिरोले माई, सूर्योदय, देउमाई, चुलाचुली लगायतका पालिकामा पनि ठुलो क्षति पुर्याएका छन्। ‘हामीले तत्काल राहतका रूपमा जनजीवन सहज बनाउन सहयोग सुरु गरेका हौँ’, अध्यक्ष थेबेले भन्नुभयो, ‘राहतसँगै पुनः स्थापनाको पहलमा पनि हामी जुट्नेछौँ।’
इलामका विभिन्न स्थानमा अहिले पनि पहिरोका कारण सडक अवरुद्ध छन्। विद्युत् आपूर्ति र खानेपानी वितरण प्रणाली पनि प्रभावित बनेको छ। स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको र बेपत्ता भएकाको खोजी भइरहेको जनाएको छ।
राहत वितरण कार्यक्रममा युवा संघका केन्द्रीय पदाधिकारी, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी थिए। स्थानीय बासिन्दाहरूले राहत सामग्री पाउँदा तत्कालीन राहत सहयोगले ठुलो राहत पुगेको प्रतिक्रिया दिएका छन्।













प्रतिक्रिया दिनुहोस्