जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार ०८:१९

असंवैधानिक गतिविधि नरोकिए सडकमा उत्रिने एमाले धादिङको चेतावनी


धादिङ, असोज २३ । नेकपा (एमाले) धादिङले सरकारले असंवैधानिक गतिविधि जारी राखे कडा प्रतिवादका लागि सडकमा उत्रिने चेतावनी दिएको छ।

एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा सरकारले नेकपा (एमाले) का अध्यक्षसहित नेतामाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, जनतामाझ डर र त्रास फैलाउने तथा पार्टीको तेजबोध कमजोर पार्ने जस्ता गतिविधि गरिरहेको उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘राजनीतिक प्रतिद्वन्द्वीलाई दमन र डर देखाएर कमजोर पार्ने षड्यन्त्र लोकतान्त्रिक मूल्य र संविधान विपरीतको कार्य हो, सरकारका यस्ता असंवैधानिक क्रियाकलाप तुरुन्त रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।’

‘यदि यस्ता असंवैधानिक गतिविधि रोकिएनन् भने एमाले धादिङले कडा प्रतिवादका लागि सडकमा उत्रिनेछ, त्यस क्रममा सिर्जित हुने सम्पूर्ण परिणामको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्नेछ’, एमाले जिल्ला कमिटी बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकहरूलाई यस्ता गतिविधि देखिए तत्क्षण प्रतिवादमा उत्रन निर्देशन पनि दिनु भएको छ । एमाले धादिङले पछिल्ला दिनमा पार्टी नेतृत्वमाथि भइरहेको धरपकड र सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या अभियानलाई नियोजित प्रयासका रूपमा लिएको जनाएको छ। वक्तव्यमा भनिएको छ, ‘जनताको पक्षमा दृढ भएर उभिएको एमालेलाई बदनाम पार्ने, कमजोर देखाउने र संगठनात्मक रूपमा आघात पुर्‍याउने नियतले सरकारको नियोजित खेल भइरहेको छ।’

पार्टीले संघीय लोकतान्त्रिक व्यवस्थाको मर्यादा र संविधानको रक्षा सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै लोकतान्त्रिक अधिकार र पार्टीगत स्वतन्त्रतामाथि कुनै पनि प्रकारको दमन स्वीकार्य नहुने जनाएको छ।