जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार १२:१९

जेनजी अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ


काठमाडौं, असोज २३। जेनरेसन जेड (जेनजी) आन्दोलनका अभियन्ता डा. निकोलस भुसाल बिहीबार माइतीघर मण्डलामा पक्राउ परेका छन्। सरकारका विरुद्ध आन्दोलन गर्न पुगेका भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

जेनजी समूहले आफ्ना मागहरू एक महिनासम्म पनि सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन माइतीघरमा प्रदर्शन आयोजना गरेको थियो। तर, माइतीघर क्षेत्रमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति रहँदा प्रदर्शन सुरु हुन नपाउँदै उनीहरू पक्राउ परेका हुन्।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला र वरपरका क्षेत्रमा कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन नगर्न विज्ञप्ति जारी गरेको थियो। सोही निर्देशनका आधारमा प्रहरीले ‘हुल बाँधेर उभिन नपाइने’ नीति कडाइका साथ लागू गरेको छ।