जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १३:११

सुनसान बिपी राजमार्ग : ठप्प भयो व्यापार व्यवसाय 


सिन्धुली, असोज २४। दशै सकिएसँगै राजधानी फर्कनेको भीडले देशभरका सडकहरू व्यस्त छन् । तर, काठमाडौं–पूर्व जोड्ने मेरुदण्ड मानिने बिपी राजमार्ग भने अहिले पनि सुनसान छ । सडकका दायाँ–बायाँ पसल, होटेल र चिया–पसलहरू बन्द छन् । खुलेका केहीमा पनि ग्राहक छैनन् ।

गत असोज १७ गते रातिदेखि तीन दिन लगातार परेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीका कारण काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बिपी राजमार्गका १६ स्थान बगाएको थियो । सडक भत्किएपछि खुर्कोट–नेपालथोक–भकुण्डे–धुलिखेल खण्डमा यातायात पूर्णरूपमा ठप्प भएको छ ।

काठमाडौं फर्कने सिजनमा सबै राजमार्गमा सवारी चाप बढेको बेला बिपी राजमार्गमा भने फाट्टफुट्ट स्थानीय सवारी साधन मात्र गुडिरहेका छन् । सडक छेउका होटेल तथा पसलमा कारोबार ठप्प छ ।

सिन्धुलीको रातमाटा बोहोरेटारका व्यवसायी राजेश कार्कीका अनुसार  हाइवेका सबै बजार राजमार्गकै कारण चलेका हुन् । अहिले सडक बन्द भएपछि व्यापार व्यवसाय ठप्प छ । उहाँका अनुसार बाढीले सडक बगाउँदा राजमार्गको आवागमन रोकिएसँगै बजारको आर्थिक क्रियाकलाप पनि थलिएको छ ।  ‘बिपी हाइवेका सबै बजार राजमार्गकै कारण चल्ने हो, यातायात बन्द भएपछि व्यापार व्यवसाय ठप्प छ’, उहाँले भन्नुभयो ।

सडक डिभिजन कार्यालयका भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार खोलाले बगाएको भागमा अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सडक सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिकहरू खटिएका छन्  ।

सडक सञ्चालन भएपछि राजमार्ग किनारको बजार फेरि चलायमान हुने अपेक्षा गरिएको छ । दशैँपछि तिहार र छठ पर्वमा यात्रु चाप बढ्ने भएकाले छिट्टै सडक सञ्चालन भए व्यापार व्यवसाय पुनः उठ्ने आशा व्यापारीहरूले व्यक्त गरेका छन् ।