जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार १६:४२

भुजी लिग फुटबल प्रतियोगिता सुरु, विजेताले पाउने १ लाख २७ हजार ७२७ रुपैँया र ६७ हजार ७ सय २७ रुपैँया पाउने 


रामेछाप, असोज २५ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा २७औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ औपचारिक रूपमा सुरु भएको छ।

अमृत घामछाया खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा भुजी क्षेत्रका साथै आसपासका स्थानका गरी नौ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता आगामी असोज २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैँया नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले ६७ हजार ७ सय २७ रुपैँया नगद र रजत पदक पाउनेछ।

सेमिफाइनलदेखि फाइनलसम्मका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभ राज सुनुवारले जानकारी दिनुभयो। उहाँको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको उद्घाटन उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गर्नुभएको हो।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता थियो।

क्लबका अध्यक्ष शुभ राज सुनुवारका अनुसार प्रतियोगिताको उद्देश्य गाउँमा खेलकुदको माध्यमबाट एकता, सौहार्द र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्नु हो। उहाँले भुजी लिग फुटबल स्थानीयस्तरमा खेलकुदको पहिचान स्थापना गर्ने परम्परागत उत्सवको रूपमा विकसित भइसकेको बताउनुभयो।