जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार ०८:५७

सुनसरीमा सिटी सफारी चालकको गोली हानी हत्या


सुनसरी, असोज २६ ।सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ सिटी सफारी चालकको गोली हानी हत्या गरिएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरी रहेका छन्।

प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ५ बजे चौधरीले चलाइरहेको सिटी सफारी (प्र १–०२–००४ ह ७८०४ नम्बरको) लाई उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा कर्मनिया टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलमा आएका तीन जनाको समूहले रोकेर आक्रमण गरेका थिए। आक्रमणपछि चालकको छातीमा गोली हानेको जस्तो दाग देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो ।

सडकमा रोकेर राखिएको सिटी सफारीदेखि करिब २०० मिटर टाढा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ। रगताम्य अवस्थामा चालक लडेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। घटनास्थलमा फेला परेको प्रमाण र स्थानीय प्रत्यक्षदर्शीका बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले आक्रमणमा संलग्न तीन जनाको पहिचान गर्ने प्रयास भइरहेको र घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।