हेटौँडा, असोज २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले युवाहरूले खोलेको परिवर्तनको ढोका भदौ २४ गते मध्यरातमा बन्द गर्ने काम भएको बताउनुभएको छ ।
जेनजी (Gen-Z) युवा पुस्ताको आन्दोलन हाइज्याक भएको उल्लेख गर्दै अध्यक्ष थापाले जनताको परिवर्तनको चाहनालाई तुहाउने काम स्वयम् प्रधानमन्त्रीबाटै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘असंवैधानिक सिफारिसको आधारमा संसद् विघटन गर्दा संविधान बाधक नहुने, तर युवा पुस्ताको माग सम्बोधन गर्न संविधान कसरी बाधक भयो ?’
हेटौँडामा सोमबार राप्रपा नेपालले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक तरिकाले सत्तामा पुगेको आरोप लगाउनुभयो । उहाँका अनुसार देशी–विदेशी शक्ति र असफल भइसकेको गणतन्त्रका अवशेषहरुले साँठगाँठ गरेर जेनजी आन्दोलनलाई अपहरण गरेका छन् ।
राष्ट्रपतिले जुक्ति लगाएर भ्रष्ट व्यवस्था र शासकलाई जोगाएको आरोप समेत उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा युवाहरूले उठाएको परिवर्तनको आवाजलाई फेरि पुरानै राजनीतिक व्यवस्थाको चक्रभित्र कैद गरियो ।’
अध्यक्ष थापाले अहिलेको मिश्रित निर्वाचन प्रणाली कायम राखेर भ्रष्टाचार र कुशासनको अन्त्य हुन नसक्ने दाबी गर्नुभयो । उहाँले विगत दुई दशकदेखि देशभर फैलिएको भ्रष्टाचारको जालोको मूल कारण संघीय, धर्मनिरपेक्ष गणतन्त्र र हालको निर्वाचन प्रणाली भएको बताउनुभयो ।
उहाँका अनुसार अहिलेको प्रणालीले लोकप्रिय दललाई पनि बहुमत दिन सक्दैन, जसका कारण सांसद् किनबेच र पुराना दलहरूको अपवित्र गठबन्धनको प्रवृत्ति स्थायी बन्दै गएको छ । ‘गणतन्त्र र संघीयतालाई कायम राखेर हुने निर्वाचनको कुनै अर्थ छैन,’ अध्यक्ष थापाले भन्नुभयो, ‘यस्तो प्रणालीले देशलाई स्थायित्व दिन सक्दैन ।’
उहाँले राजसंस्था र प्रजातन्त्रबाट मात्र नेपालीबीचको राष्ट्रिय एकता कायम गर्न सकिने बताउनुभयो । उहाँका शब्दमा, ‘राजसंस्था नेपालको ऐक्यबद्धताको मेरुदण्ड हो, यसलाई पुनर्स्थापना नगरी राष्ट्रिय एकता सम्भव छैन ।’
भेलामा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्