जनता टाइम्स

३१ आश्विन २०८२, शुक्रबार ०९:०२

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


काठमाडौं,असाेज ३१ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम निरन्तर जारी रहने छ। हिजो बसेको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।

उहाँले हिजोको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत जानकारी गराउनुभएको थियो।

त्यसक्रममा महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको संगठनात्मक सुदृढीकरण, स्थानीय संरचनाको सक्रियता र समसामयिक राजनीतिक विषयहरू समेटिएका विभिन्न प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो।

आजको बैठकमा ती प्रस्तावहरूमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। बैठकले पार्टीको आगामी दिशा, सरकारसँगको सम्बन्ध, र आगामी निर्वाचनका तयारीबारे समेत रणनीतिक निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।