जनता टाइम्स

३१ आश्विन २०८२, शुक्रबार १४:५२

रामेछापका डिएसपी भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार, सीआईबीका धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता


काठमाडौं, असोज ३१ । नेपाल प्रहरीका दुई नायब उपरीक्षक (डीएसपी)हरू यस वर्षको प्रहरी दिवसको अवसरमा सम्मानित हुनुभएकाे छ ।

७० औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापका डिएसपी भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी धर्मराज भण्डारीलाई ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार प्रदान गर्नुभयो ।

रामेछाप जिल्लामा कार्यरत डिएसपी भट्टले जेनजी आन्दोलनका क्रममा जिल्लाभित्र कुनै पनि भौतिक संरचना तथा मानवीय क्षति हुन नदिई शान्ति र सुरक्षा कायम गर्न सफल हुनुभएको थियो । रामेछाप कारागारमा भने कैदी-बन्दीहरु भाग्न खाेज्दा सुरक्षाकर्मीले चलाएकाे गाेली लागि ३ जनाकाे ज्यान गएकाे थियाे ।

उहाँले रामेछाप जानु अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा फरार अभियुक्तहरू पक्राउ र संगठित अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यसैगरी, सीआईबीका डीएसपी धर्मराज भण्डारीलाई पछिल्ला उच्चप्रोफाइल अपराधहरूको अनुसन्धानमा देखाउनुभएको दक्षता र नेतृत्वका आधारमा ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ घोषित गरिएको हो । अपराध अनुसन्धानका क्षेत्रमा उहाँको पेशागत प्रतिबद्धता र नतिजामुखी कार्यशैलीलाई उच्च मूल्याङ्कन गरिएको छ ।

यसैगरी, यो वर्षको ‘योगेन्द्र साहसिक पुरस्कार’ नेपाल प्रहरीको अनाश्रित गुल्म डिल्लीबजारमा कार्यरत इन्स्पेक्टर दुर्गा राईले प्राप्त गर्नुभएको छ । प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन र असाधारण साहस प्रदर्शन गर्ने व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ ।

७० औँ प्रहरी दिवसको अवसरमा तीनै जना प्रहरी अधिकृतहरूलाई नेपालको शान्ति सुरक्षा, अपराध नियन्त्रण र जनसेवामा योगदानको कदर स्वरूप सम्मान गरिएको हो ।