चितवन, कात्तिक १। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने माडी नगरपालिका–९, हनुमान झुला क्षेत्रमा करिब २५ वर्ष उमेरको एक भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उक्त गैंडा दलदलमा फसेर मरेको प्रारम्भिक अनुमान गरिएको छ। उहाँले भन्नुभयो, ‘गैंडा दलदलमा फसेर मरेको देखिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
मृत गैंडाको खाग र खुर सुरक्षित अवस्थामा भेटिएका छन्। यसले घटना प्राकृतिक कारणबाट भएको सम्भावना देखाउँछ। यो घटनासँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला परेका गैंडाको संख्या चार पुगेको छ।
निकुञ्ज प्रशासनका अनुसार गैंडाको मृत्युका कारण प्रायः प्राकृतिक हुने गर्छन्। वातावरणीय असर, बाढी, दलदल, आन्तरिक लडाइँ र बुढ्यौली जस्ता कारणले पनि प्रत्येक वर्ष केही गैंडा मर्ने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या पछिल्ला वर्षमा स्थिर देखिए पनि प्राकृतिक कारण र बासस्थानमा पर्ने दबाबले मृत्यु दर उच्च नै रहेको निकुञ्ज स्रोतले जनाएको छ। गैंडाकाे चाेरी सिकारी भने घट्दै गएकाे छ ।













प्रतिक्रिया दिनुहोस्