सिन्धुली, कात्तिक ३ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा जुवा तास खेलाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। छापामारीका क्रममा २४ जना व्यक्तिलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनीहरूबाट तासका पत्तासहित नगद रु. ३ लाख ८९ हजार १ सय ६१ रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) सूर्यप्रकाश अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार जुवातास खेल्ने कार्य कानूनी अपराध भएकाले सबै पक्राउ परेकामाथि आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइनेछ। ‘जुवातास, सट्टेबाजी लगायतका गैरकानुनी गतिविधि नियन्त्रणका लागि जिल्लाभर निगरानी र विशेष अभियान सञ्चालन भइरहेको छ,’ प्रनाउ अधिकारीले बताउनुभयो।
दशैँ–तिहारको समयमा गाउँ–घरमा पैसामा जुवा तास खेल्ने प्रचलन बढ्ने भएकाले प्रहरीले निगरानी कडाइ गरेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्