काठमाडौं, कात्तिक ३ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले प्रचण्डकाे सचिवालय सदस्यको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ।
उहाँले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा सार्वजनिक गर्दै पछिल्ला भ्रामक समाचार र व्यक्तिगत प्रहारका कारण यस्तो निर्णय लिन बाध्य हुनुभएको उल्लेख गर्नुभएको छ। गंगाले फेसबुकमा लेख्नुभएको छ, ‘मेराबारे पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ, म बुवाको सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि आमाको स्वास्थ्य अवस्था कमजोर भएको कारण पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएको हुँ।’
उहाँले सचिवालयमा रहँदा निस्वार्थ भावनाले काम गरेको बताउनुभएको छ। ‘दुख लाग्छ, जति राम्रो गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ, मैले कहिल्यै आफ्नो स्वार्थका लागि काम गरेकी छैन,’ उहाँको भनाइ छ।
गंगाले आफ्नो विरुद्ध निरन्तर कुप्रचार भइरहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी, एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन, साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो, अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’
उहाँले आफू र परिवारलाई देखाएर नेकपा (माओवादी केन्द्र) र संयोजक प्रचण्डमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको आरोप लगाउनुभएको छ। ‘निरन्तर यसरी प्रहार भइरहेकाले संयोजकको सचिवालयबाट राजीनामा दिएको हुँ,’ उहाँले लेख्नुभएको छ।
उहाँले आफू पार्टीबाट भने नटुट्ने स्पष्ट पार्नुभएको छ। ‘म पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु,’ उहाँले उल्लेख गर्नुभएको छ।
सचिवालयमा रहँदा सहयोग र साथ दिनुभएका पार्टी नेताहरू, कार्यकर्ताहरू र आम नागरिकप्रति गंगाले धन्यवाद प्रकट गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्