काठमाडौं, भदौ ४। इजरायलमा हमास लडाकुले अपहरण पछि हत्या गरेका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
जोशीको पार्थिव शरीरलाई बिहान महाकाली नदीको भुजेला घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयाे । उहाँका अनुसार अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीबलले जोशीलाई सलामी अर्पण गर्नेछ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमास समूहले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। अध्ययनका सिलसिलामा इजरायल पुगेका विपिनकाे हमासले आफ्नै नियन्त्रणमा रहेकाे बेला हत्या गरेकाे थियाे ।
उहाँको पार्थिव शरीर सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको थियो। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन सदस्यीय इजरायली प्रतिनिधि टोलीसहित नेपाली सेनाले जोशीको शव काठमाडौंबाट स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा पुर्याएको थियो। त्यहाँ राष्ट्रिय झण्डा ओढाइएको शवमा सलामी अर्पण गरी परिवारजनलाई बुझाइएको थियो।













प्रतिक्रिया दिनुहोस्