जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार ०९:५७

सुशीला कार्की अवैध प्रधानमन्त्री, बालेन साह देश ध्वस्त बनाउने विदेशी दलाल : महेश बस्नेत 


भक्तपुर, असोज ४ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को हत्या र विध्वंस विदेशीहरूको योजना अनुसार भएको बताउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम बोल्दै बस्नेतले जेनजी पुस्ताका बालबालिकाको भवनमा खेलेर विदेशी शक्तिले नेपाल माथि आक्रमण गरेका बताउनुभयो । ‘नेपाली जेनजी पुस्ताका बालबालिकाको भावनामा खेलेर विदेशीहरूले जुन किसिमको आक्रमण गरे त्यो कुनै आन्दोलन थिएन, नेपाली र ओर्जिनल जेनजीहरुले यसलाई आन्दोलन भन्ने ठाने, सुशासन कायम हुनुपर्छ र सामाजिक सञ्जाल चलाउन पाउनु पर्छ भन्ने सामान्य माग राखेका थिए, कुनै सत्ता परिवर्तनको माग थिएन, प्रधानमन्त्रीको राजीनामाको माग पनि थिए’, उहाँले भन्नुभयो ।

उहाँले नेपाली आन्दोलनमा तिब्ततियन ओर्जिनल ब्लड आएर भदौ २३ र २४ को विध्वंस मच्चाएको उहाँले बताउनुभयो । ‘बालबालिकालाई भावनामा बहकाइयो, बालबालिका भावनासँग खेलेर विदेशीले देश ध्वस्त बनाए’, उहाँले भन्नुभयो ।

आन्दोलनस्थलमा उनीहरूले एसएलआर हतियार प्रयोग गरेको बस्नेतको दाबी छ । विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनस्थलमा लगेर ट्यारपमा पारिएको उहाँले बताउनुभयो । विद्यार्थीहरूको योजनाबद्ध हत्या गरिएको बस्नेतले दाबी गर्नुभयो ।

आन्दोलनमा बालेन साहको टिमले उत्तेजना फिँजाउने काम गरेको पनि उहाँले बताउनुभयो । काठमाडौं महानगरका मेयर बालेन साहले राजु थापा लगाएर पानी बाँड्दै सिंहदरबार जलाउन उत्प्रेरित गराएका बस्नेतको भनाइ छ । सुधन गुरुङ र बालेन साहले बाँडेको र बाँड्न लगाएको पानी खान भन्दा पनि अक्सुल ग्याँसको पिरो धुनको लागि बाँडिएको उहाँको दाबी छ ।

उहाँले अहिले बालेको कानुनी सल्लाहकार ओमप्रकाश गृह मन्त्री भएका बताउँदै उनले आफ्ना विदेशी गुरुलाई खुसी पार्ने गरी काम गरिरहेका बताउनुभयो । विदेशीको योजना अनुसार बालेनले ओमप्रकाश र कुलमान घिसिङलाई मन्त्री बनाएका उहाँले बताउनुभयो । भ्रष्टाचार गरेर रकम सङ्कलन गर्न र त्यही सङ्कलन गरेको पैसाबाट पार्टी खोल्ने योजना अनुसार ओमप्रकाश र कुलमान मन्त्री बनाइएका उहाँले दाबी गर्नुभयो ।

वाइसिएलले भदौ २३ र २४ को आन्दोलनमा १० हजार लडाकु परिचालन गरेको बताइसकेकोले आन्दोलन कसले चलाएको हो भन्ने प्रष्ट भइसकेको उहाँले बताउनुभयो । त्यस्तै रास्वपाका नेताहरूले खुल्ला चुनौती दिएर अख्तियार र सर्वोच्च अदालत जलाएका बस्नेतले बताउनुभयो । बालेनले त बारम्बार सिंहदरबार जलाउने खुल्ला चुनौती दिँदै आएको उहाँले सुनाउनुभयो । ‘जेनजी पुस्ताको काँधमा बन्दुक राखेर उनीहरूको छातीमा बम फिट गरेर आज खरबौँ रुपैँयाको क्षति गरिएको छ’, उहाँले भन्नुभयो ।

बस्नेतले अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालको संविधानले नचिन्ने बताउनुभयो । नेपालको संविधानले प्रतिनिधि सभा सदस्य नभएको मानिलाई प्रधानमन्त्री हुने अधिकार नदिएको उहाँले बताउनुभयो ।  ‘सुशीला कार्की अवैध प्रधानमन्त्री हुन्’, उहाँले भन्नुभयो ।

बस्नेतले भदौ २४ गतेको घटनाको मुख्य अभियुक्त सुशीला कार्की, ओमप्रकाश अर्याल र सुधन गुरुङ भएका बस्नेतले बताउनुभयो । गृह मन्त्री ओमप्रकाश अर्याललाई लुटपाट, हत्या, तोडफोड र आगजनीको घटनाका प्रमाण नष्ट गरेको आरोपमा मुद्दा लाग्ने उहाँले दाबी गर्नुभयो । ‘सुशीला कार्की एनजिओ, आइएनजिओले बनाएको अवैधानिक प्रधानमन्त्री हो, यिनी अवैधानिक हुन्’, बस्नेतले भन्नुभयो ।

बस्नेतले आज सुशीला, ओमप्रकाश, बालेन र सुधनले रजगज गरेका भए पनि देशमा एमाले भएको कुरा नबिर्सन चेतावनी दिनुभयो । उनीहरू माथि ७ महिनापछि एमालेले नै मुद्दा चलाउने बस्नेतले बताउनुभयो । ‘यो राज्य ध्वस्त पार्ने विदेशीको एक नं दलाल कोही हो भने बालेन साह लुसिफर हो’, उहाँले भन्नुभयो ।

बस्नेतले एमाले भित्र आन्तरिक एकता यतिबेला बलियो बनाउनु पर्ने बताउनुभयो । यतिबेला पार्टी भित्र र लोकतान्त्रिक शक्तिसँगको एकतालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । एमालेको आउने महाधिवेशनमा पनि केपी ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै उहाँले एमाले भित्र केपी ओली हट्नु पर्छ भन्नेलाई त्यहीँ प्रतिष्पर्धा गर्न आउन चुनौती दिनुभयो ।

केपी ओलीकाे सान, मान र सत्तामा हुँदा मन्त्री बन्न धाउने, केपी ओलीको घर आफ्नो बनाएर रजगज गर्नेहरू आज पार्टी भित्र ओलीको विरुद्ध लागेका बताउँदै उहाँले उनीहरूको नैतिकता माथि प्रश्न उठाउनुभयो । अब पार्टी भित्र पनि शुद्धीकरण अभियान चलाउनु पर्नेमा उहाँले जाड दिनुभयो ।