जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार १५:२०

रामेछापमा मध्यपहाडी लोकमार्ग निर्माण सकिनासाथ धसियो


 रामेछाप, कात्तिक ४ । पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको वैकल्पिक मार्ग पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा सडक खण्ड निर्माण सम्पन्न हुनासाथै धसिएको छ । करिब ११ किलोमिटर लम्बाइको उक्त खण्ड स्थानीयवासीको लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको थियो । तर, निर्माण सकिएलगत्तै सडकका धेरै भाग भासिने र माटो खस्ने समस्या देखिएपछि आवागमनमा नै जोखिम बढेको छ ।

स्थानीय राज मैनालीका अनुसार सडक निर्माणका क्रममा गुणस्तरमा ध्यान नदिइएको र प्राविधिक स्टिमेट पनि कमजोर बनाइएको कारण सडकले स्थायित्व नपाएको हो । ‘काम सकिएलगत्तै सडक धसिनु भनेको निर्माणमा चरम लापरबाही भएको स्पष्ट प्रमाण हो,’ उहाँले भन्नुभयो, ‘जनताको करबाट हुने विकासका काममा यस्तो बेवास्ता हुनु दुःखद विषय हो।’

मैनालीका अनुसार निर्माण कार्यको क्रममा स्थानीयवासीले पटक–पटक निगरानी र सावधानीका सुझाव दिए पनि निर्माण कम्पनी र सम्बन्धित निकायले बेवास्ता गरेका थिए। ‘अब सडक धसिएपछि मात्र त्यसको असर देखियो, तर अब गुनासो गरेर मात्रै केही हुँदैन,’ उहाँले भन्नुभयाे ।

उहाँले स्थानीय जनतालाई यस्ता सार्वजनिक पूर्वाधार निर्माणका विषयमा सतर्क रहन र दिगो निर्माणका लागि आवाज उठाउन पनि आग्रह गर्नुभयो । उहाँका अनुसार गुणस्तरीय काम नभए आवागमनमा मात्र होइन, समग्र साे क्षेत्रकै आर्थिक र सामाजिक जीवनमा समेत असर पर्ने छ।

सडक निर्माणमा भएको क्षतिको मूल्यांकन तथा पुनःमर्मतका लागि हालसम्म कुनै पहल नदेखिएको उहाँले बताउनुभयाे । सडक धसिँदा कोथवे, लुभु र डहु क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने राष्ट्रय गैरवकाे याेजना माथि नै प्रश्न उठेकाे छ ।

उक्त सडक खण्ड पुष्पलाल मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण अंशका रूपमा मानिन्छ । यसले रामेछाप लगायत काठमाडाैंबाट पूर्वका जिल्लालाई काठमाडौंसँग जोड्छ ।  सडक निर्माणको सुरुदेखि नै गुणस्तर, ढिलासुस्ती र निगरानी अभावजस्ता समस्याकाे कारण अहिलेकाे अवस्था आएकाे हाे ।

साे सडककाे निर्माण र अनुगमनकाे मुख्य निकायकाे रुपमा रहेकाे  पुष्पलाल मध्यपहाडी लोकमार्ग परियाेजना कार्यालय रामेछाले भने माथिबाट पानी झरेकाे कारण समस्या आएकाे भन्दै साे घटनालाई सामान्यकरण गर्ने प्रयास गरिरहेकाे छ ।