जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार १६:२१

जेनजीकाे नाममा आगो लगाउनेलाई जोकोहीको खोल ओढेर पानीमुनि लुक्न खोजे पनि माफी दिइने छैन : सूर्य थापा 


प्युठान, कात्तिक ४ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठानको बिजुवारस्थित पार्टी कार्यालयमा आगजनी गरी क्षति पुर्‍याउनेहरूलाई कानुनी कारबाहीबाट कुनै हालतमा उन्मुक्ति नदिइने बताउनुभएको छ ।

आगजनीपछि खण्डहर बनेको जिल्ला पार्टी कार्यालय सहिद उमेशचन्द्र थापा स्मृति भवनको स्थलगत अवलोकन गर्दै उहाँले सो घटना कसले गरायो भन्ने प्रमाण रहेको बताउनुभयो । आगालागिबाट  प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ३२ लाख रुपैयाँ बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

थापाका अनुसार सो घटनामा विगतमा एमालेमा रहेकाब र हाल रास्वपा तथा माओवादी केन्द्रमा आबद्ध केही व्यक्तिहरू समेत संलग्न रहेको तथ्य फेला परेको छ । उहाँले भन्नुभयो, ‘जेनजी नाममा एमालेमै रहेका र पछि ६ घाटको पानी खाएर अझै नयाँ हौँ भन्दै नाटक गरिरहेका रास्वपा तथा माओवादी केन्द्रका कतिपय हुल्लडवाज मतिका अवसरवादी जमात संलग्न रहेको प्रमाण प्राप्त भएको छ।’

उहाँका अनुसार बाग्दुला र जुम्री क्षेत्रबाट उकासिएको समूहले बिजुवारस्थित पार्टी कार्यालयतर्फ जुलुसका रूपमा पुगेर आगो लगाएको हो । ‘अपराधीहरू चौतारासम्म पुगेर जुलुस पठाई लुसुक्क पछि हटे, तर एमालेलाई निशाना साध्दै आगो लगाइएको स्पष्ट प्रमाण छ,’ उहाँले भन्नुभयो।

थापाले अपराधीहरूको तस्बिर, भिडियो क्लिप र अन्य प्रमाणहरू सुरक्षित रहेको बताउँदै, अपराधीहरू जुनसुकै रूप वा आवरणमा देखा परे पनि पहिचान हुने र कानुनी कारबाहीबाट उम्किन नसक्ने चेतावनी दिनुभयो । ‘खुलेआम जोकोहीको खोल ओढेर हिँडे पनि ती अपराधी नै हुन्, तिनले पानीमुनि गएर लुक्न खोजे पनि माफी दिइने छैन,’ उहाँले दृढतापूर्वक भन्नुभयो ।

उहाँले भर्खरै सम्पन्न नेकपा (एमाले) प्युठान जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी, जनसंगठन र स्थानीय कार्यकर्ताको सामूहिक बलबुतामा कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । ‘कात्तिक २ गते सम्पन्न बैठकमा कार्यालय पुनर्निर्माणको सङ्कल्प गरिएको छ, यो काम चाँडै सम्पन्न हुनेछ,’ उहाँले भन्नुभयो ।

थापाले प्युठानका सबै पार्टी कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र जनसङ्गठनहरूलाई एकताबद्ध भएर पार्टीको गरिमा र सङ्गठनात्मक प्रतिष्ठा पुनर्स्थापित गर्न आह्वान गर्नुभयो ।