जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार ११:२४

संघर्षबाट आत्मनिर्भरता : हिरा गौतम उद्यमशील महिलाको प्रेरणादायी उदाहरण


-नवराज पथिक-

रामेछाप, कात्तिक ५ । ३१ वर्षअघि ओखलढुङ्गा जिल्लाको पोकलीमा जन्मनु भएकी हिरा गौतम हाल रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४, फुलासी बजारमा ‘सदिच्छा व्युटिपार्लर एण्ड कस्मेटिक पसल’ सञ्चालन गर्दै आत्मनिर्भर र उद्यमशील महिलाको प्रेरणादायी उदाहरण बन्नु भएको छ। उहाँको जीवन कथा संघर्ष, जिम्मेवारी र आत्मनिर्भरताको उज्यालो प्रतीक बनेको छ।

१२ कक्षासम्म अध्ययन पूरा गर्नुभएकी उहाँको १८ वर्षको उमेरमा २०६८ सालमा फुलासीमा विवाह भयो । विवाहपछि श्रीमानसँगै पारिवारिक व्यवसायमा हातेमालो गर्दै उहाँले फुलासी बजारमा ‘हिमेश मल्टिभेराइटी एण्ड सप्लायर्स’ सञ्चालन गर्नुभयो। वैवाहिक जीवन स्थिर र खुसीमय बन्दै गएको समयमा २०७० सालमा छोरीको जन्मले परिवारमा नयाँ उमङ्ग थपिएको थियो।

तर, केही वर्षपछि जीवनले असह्य मोड लियो। उहाँका श्रीमान् अस्वस्थ बन्नु भयो र उपचारपछि ब्लड क्यान्सर भएको पत्ता लाग्यो। श्रीमानको जीवन रक्षाका लागि उहाँले सबै सम्पत्ति र बचत खर्च गर्नुभयो। आफन्त र साथीभाइको सहयोगमा नेपालदेखि भारतसम्म उपचार गराउँदा करिब एक करोड रुपैयाँभन्दा बढी खर्च भयो। त्यसपछि पनि उहाँका श्रीमानलाई बचाउन सकिएन र २०८० माघ १६ गते उहाँको असामयिक निधन भयो।

जीवनको गहिरो पीडा बीच पनि हिरा गौतमले हिम्मत हार्नुभएन। उहाँले श्रीमानले सुरु गर्नुभएको व्यवसायलाई निरन्तरता दिनुभयो र आफू पनि नयाँ केही गर्ने सङ्कल्प लिनुभयो। यही क्रममा उहाँ सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित ‘सहायक व्युटिसियन तालिम’मा सहभागी हुनुभयो। मन्थली नगरपालिका–१४, फुलासीमा सञ्चालन गरिएको सो तालिम ६५ दिनको व्युटिपार्लर सीप र ७ दिनको व्यवसाय उत्प्रेरणा तथा जीवन उपयोगी सीप विकास तालिमसहित सम्पन्न भएको थियो।

तालिमपछि उहाँले व्यावहारिक रूपमा नयाँ व्यवसाय सुरु गर्ने योजना बनाउनु भयो। तालिममा सिक्नुभएको सीप र विगतको व्यावसायिक अनुभवका आधारमा तयार पारिएको योजना उत्कृष्ट ठहरिएपछि सामुदायिक विकास समाजले उहाँलाई व्यवसाय सञ्चालनका लागि सहयोग प्रदान गर्‍यो। त्यसपछि २०८१ मंसिर १८ गतेदेखि ‘सदिच्छा व्युटिपार्लर एण्ड कस्मेटिक पसल’ सञ्चालनमा आयो।

करिब ५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उक्त व्यवसाय अहिले स्थानीयलाई सौन्दर्य सेवा प्राप्त गर्ने प्रमुख केन्द्र बनेको छ। उहाँका अनुसार दैनिक १५ सयदेखि २ हजार रुपैयाँसम्मको कारोबार हुने गर्छ। विवाह, तीज, दशैँ र तिहारका समयमा ग्राहकको चाप अत्यधिक हुने भएकाले उहाँलाई खाना खाने फुर्सद पनि नहुने अवस्था आउँछ। उहाँले भन्नुभयो, ‘सिजनमा त मसँगै तालिम लिएका साथीहरूलाई पनि बोलाएर काम दिनुपर्छ, ग्राहक धेरै आउँछन्।’

फुलासी बजारमा हाल उहाँको व्युटिपार्लर एक मात्र रहेको कारण सेवाको माग बढ्दो छ। व्यस्त सिजनमा उहाँको मासिक आम्दानी एक लाख रुपैयाँभन्दा माथि पुग्ने गरेको छ भने सामान्य समयमा पनि २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

अबका दिनमा उहाँले थप सीप विकास गर्दै सेवा विस्तार गर्ने योजना बनाउनु भएको छ। उहाँले भविष्यमा व्युटिसियन तालिम केन्द्र स्थापना गरी अन्य महिलालाई सीप सिकाउने लक्ष्य पनि राख्नुभएको छ। उहाँको भनाइ छ, ‘जीवनमा दुःख त आए, तर म हारिनँ, सीप सिकेपछि आत्मनिर्भर बन्न सकिँदो रहेछ।’

हिरा गौतमको जीवन कथा केवल व्यक्तिगत संघर्षको मात्र प्रतीक होइन, ग्रामीण महिलाले सीप, लगनशीलता र आत्मविश्वासका माध्यमबाट कसरी सशक्त बन्न सक्छन् भन्ने प्रेरक उदाहरण पनि हो। आफ्नो जीवन अनुभवबाट उहाँले सन्देश दिनुभएको छ, ‘सिप र आत्मविश्वासले नै जीवन बदल्न सकिन्छ।’