जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार २०:४०

प्रधानमन्त्रीको बोली फेरियो, ठूलै शक्ति लाग्यो– गणपतिलाल श्रेष्ठ


काठमाडौं, ९ कात्तिक । सुशीला कार्कीको मन्त्रीपरिषदमा भूमिसुधार मन्त्रीमा प्रस्तावित सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले प्रस्ताव अस्वीकार गर्नुभयो । आफूलाई सुरुमा पर्यटन मन्त्री बनाउने भनिए पनि पछि फेरबदल गरिएको उहाँको गुनासो छ । गणपतिले एक विज्ञप्ति जारी गरी आफूलाई पर्यटन मन्त्रालयको योजना बनाउन लगाएर अन्तिममा भूमि व्यवस्था मन्त्री बन्न भनिएपछि अस्वीकार गरेको स्पष्ट पार्नुभएको छ ।

आइतवार साँझ वक्तव्य जारी गर्दै उहाँले एक महिना अगाडि नै प्रधानमन्त्रीले बोलाएर भेटेको र मार्गचित्रसमेत तयार गरेको बताउनुभएको छ । ‘मलाई कात्तिक ८ गते (हिजो) प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा बोलाएपछि गृहमन्त्री र उर्जामन्त्री समेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना सुनाएँ ।उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकाले भोलि सपथको तयारी गर्नुस भन्नुभयो ।

त्यस अनुसार म आज विभिन्न विज्ञहरु तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरुसँग छलफल गरिरहेको अवस्थामा विहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी र गरिबी निवासर मन्त्रीको रुपमा नियुक्त हुुन लागेको जानकारी भयो ।’त्यसपछि आजै विहान गृहमन्त्री ओम प्रकाश अर्यालले फोन गरेर आफूविरुद्ध ठूलो शक्ति लागेको भन्दै प्रधानमन्त्रीलाई भेट्न सुझाएको उहाँको दावी छ । त्यसपछि प्रधानमन्त्रीसँग भेट्दा पर्यटन मन्त्रीमा अर्कैलाई वचन दिइसकेको भन्दै अर्कैतिर हेरेपछि आफूले मन्त्री बन्न अस्वीकार गरेको उहाँले बताउनुभएको छ ।‘मैले हिजो बेलुका मलाई दिनुभएको वचन चै के भनि प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिइकन अर्कोतिर हेर्नुभयो,’ उहाँले भन्नुभएको छ छन्, ‘हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नुपर्ने सर्वसाधारणको माग रहेको र मेरो धाराण पनि त्यही भएकाले म मन्त्री बन्नका लागि मात्रै मन्त्री बन्न अनुच्छिक रहेको पुन प्रष्ट पारेँ ।’