जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १२:२५

सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, विजेताले डेढ लाख रुपैँया पाउने


रामेछाप, कात्तिक १०। सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नुभएको हो ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा रामेछाप र काभ्रेका ११ टिमले सहभागिता जनाएका छन् । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । साथै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैँया पुरस्कार प्रदान गरिनेछ ।

गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार प्रतियोगिताको उद्देश्य गाउँपालिकाभित्रका खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिलाउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने रहेको छ । उहाँले भन्नुभयो, ‘स्थानीय खेलाडीहरूको हौसला बढाउँदै गाउँपालिकाको पहिचान र पर्यटकीय आकर्षण विस्तार गर्ने हाम्रो लक्ष्य हो ।’

उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव घिसिङले यस्ता प्रतियोगिताहरूले गाउँस्तरमा खेलकुदको विकाससँगै ग्रामीण पर्यटनको सम्भावना विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘खेलकुद अब स्वास्थ्यको मात्र साधन होइन, व्यावसायिक रोजगारी र अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम बनेको छ, नेपाली खेलाडीहरूले खेल खेलेर बाँच्न सकिन्छ भन्ने उदाहरण स्थापित गरेका छन्।’

गाउँपालिका अध्यक्ष ठुलोकान्छा लामाले विगतमा केही समयका लागि रोकिएको अध्यक्ष कप प्रतियोगिता खेलाडीहरूको मागअनुसार यस वर्ष पुनः सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रतियोगिता खेलाडीहरूको मनोबल उच्च बनाउन र गाउँपालिकाको खेलकुद सञ्जाललाई सुदृढ बनाउन महत्वपूर्ण छ, हामी आगामी वर्ष पुरस्कार रकममा वृद्धि गरी अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्नेछौँ ।’

प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा रामेछाप र काभ्रेका विभिन्न टिमबीच प्रतिस्पर्धा भइरहेको छ । आयोजक समितिका अनुसार, दर्शक आकर्षणका लागि स्थानीय सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।