सिन्धुली, कात्तिक ११। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलवार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको थियो। उक्त दुर्घटनामा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।
दुर्घटनामा ओमबहादुरकी ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको हो। उनकी पत्नी सुनिताको अवस्था गम्भीर रहेको र छोरा निशान्तको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्