जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ०७:२४

सरकार, दल र जेनजीबिचको संवाद आज


काठमाडौं,  कात्तिक १२ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद गर्दै हुनुहुन्छ। भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गर्नुभएको छ । उहाँकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुने छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो। उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गर्नुभएको थियो । उक्त बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए। प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गर्नुभएको छ । सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ। सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको प्राविधिक तयारीबारे गृहकार्य अघि बढाएको छ। निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ।