जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ०७:४६

प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक भारतीयसहित १५ जना पक्राउ


काठमाडौं, कात्तिक  १२ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी र विभिन्न ठाउँमा लुटपाट गरेको आरोपमा प्रहरीले थप १५ जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न रहेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास ५ का २५ वर्षीय सुजन वाइवा, दोलखाको मेलुङ गाउँपालिका ६ का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट ५ का २१ वर्षीय अनिल भुजेल, भारतको राजस्थान प्रदेश जयपुरग्राम पञ्चायतका २४ वर्षीय सोयव खान, कञ्चनपुरको महेन्द्रनगर ऐंठपुरका २० वर्षीय विकास आग्री रहेका छन्।

काठमाडौँ प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार दैलेखको शैलुङ गाउँपालिका ८ का २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैयाका २७ वर्षीय राजेश तामाङ, काठमाडौँको नागार्जुन नगरपालिका ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी १ का ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीको सुनकोसी गाउँपालिका १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलीखेल नगरपालिका ११ का ४१ वर्षीय सुवास गोतामे, कञ्चनपुरको बेलौरी नगरपालिका १ वैसाखीका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इसंखु गाउँपालिका १ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी गाउँपालिका ७ का २४ वर्षीय गोबिन्दकुमार ठाकुर रहेका छन्। उनीहरूले प्रहरी कार्यालय आगजनी गर्न, तोडफोड, चोरी लुटपाटमा संलग्न रहेको, प्रहरीका हतियार लुटेर प्रदर्शन गरेको जस्ता प्रमाण फेला परेको प्रहरीको दाबी छ। संलग्न देखिएका कसुरका आधारमा काठमाडौँ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।