जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ०८:३९

पार्टी रुपान्तरण, पुस्तान्तरण र एकताका लागि नियमित महाधिवेशन : कांग्रेस नेता प्रदीप पाैडेल 


काठमाडौं, कात्तिक १२। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण, पुस्तान्तरण र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको भिडियो वक्तव्यमा जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरी नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव पेश गरिसकेकाे जानकारी दिनुभयो। ‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ उहाँले बताउनुभयो।

वर्तमान कार्यसमितिको म्याद थप्न लागिएको हो कि भन्ने आशंकासहितका जिज्ञासा धेरै कार्यकर्ताबाट आएको बताउँदै नेता पौडेलले त्यसप्रति आफू सहमत नरहेको स्पष्ट पार्नुभयो। महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ सङ्केत गर्दै उहाँले परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राखी जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यसमितिको कार्यकाल समाप्त हुन लागेका बेला म्याद थप्ने विषयमा असहमति जनाउँदै उहाँले विशेष महाधिवेशन माग गर्ने नेता-कार्यकर्ताहरूको चासो पनि नियमित महाधिवेशनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो। ‘समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौँ,’ उहाँको भनाइ छ।

नेता पौडेलले पार्टीभित्र आन्तरिक विवाद अन्त्य र आम एकता कायम गर्न महाधिवेशन नै सर्वोत्तम विधि भएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र एकता कायम हुन जरुरी छ, आन्तरिक विवाद अन्त्य हुन जरुरी छ, ती विवादहरूको समाधान विधिसम्मत ढङ्गबाट हुनुपर्छ, त्यसैले आन्तरिक विवाद अन्त्य गर्ने र एकता कायम गर्ने उपाय महाधिवेशन नै हो।’