जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ११:५९

राष्ट्रपति कार्यालयकाे तर्फबाट दोलखा भीमेश्वरमा क्षमा पूजा र रुद्राविशेष


दाेलखा, कात्तिक १२। देश र जनतामाथि अनिष्ट भइरहेकाे विश्वासका बीच राष्ट्रपति कार्यालयकाे तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ।

जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर सोबारे ध्यान नदिई पूजा नगरेकाले राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयकाे तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ।

भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, दोलखा भीमेश्वरको सिलामा पसिना आउनेबित्तिकै राष्ट्र प्रमुखकाे तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहिआएको हो। तर, यसपटक कोरा पूजासहितको क्षमा पूजा र रुद्राविशेष मात्र गरिएको उहाँले जानकारी दिनुभयो।

राष्ट्रपति कार्यालयकाे तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना र काठमाडौंस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली दोलखा भीमेश्वर मन्दिर पुगेर पूजामा सहभागी भएको थियो। पूजाको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मीहरू पनि उपस्थित रहनुभएको थियो।

क्षमा पूजाको व्यवस्थापनमा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायतका गुठियारहरूको सक्रिय सहभागिता रहेको थियो।

दोलखा भीमेश्वरको सिलामा पसिना आउँदा त्यसलाई पुछिएको कपासलाई ‘महा प्रसाद’को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ। त्यसपछि राष्ट्र प्रमुखकाे तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा रहिआएको छ।