काठमाडौं, कात्तिक २३ । जेन–जी आन्दोलनको क्रममा विद्यार्थीमाथि भएको घटनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनु भएका अनेरास्ववियुका अध्यक्ष सुजन कंडरियाले नेकपा (एमाले) र अनेरास्ववियुबाट बाहिर रहेका सदस्यहरूलाई पुनः संगठनमा फर्किन आह्वान गर्नु भएको छ।
उहाँले ‘सङ्कटका घडीमा संगठनको बलियो एकता नै अन्तिम उपाय हो’ भन्दै एकताको सन्देश दिनु भएको हो। भदौ २३ गते विद्यार्थी आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएपछि अनेरास्ववियुका केही नेताहरूले राजीनामा दिएका थिए। त्यस घटनाले आफूहरूलाई गहिरो पीडा दिएको बताउँदै अध्यक्ष कंडरियाले लेख्नु भएको छ, ‘ढलिरहेको रगतले हामीलाई मर्माहत बनायो, सङ्कटको समयमा पार्टीको मेरुदण्ड अनेरास्ववियुले पार्टीको साथ छोड्नु सजिलो थिएन।’
उहाँले भदौ २४ गतेको आन्दोलनमा घुसपैठको आरोप उठेपछि संगठनलाई नेतृत्वविहीन बनाउन नहुने सुझाव देशभरबाट प्राप्त भएको बताउँदै सामाजिक सञ्जालमार्फत राजीनामा फिर्ता लिएको पनि स्मरण गर्नु भयो। कंडरियाले अहिलेको अवस्थालाई आत्मसमिक्षा र पुनर्मूल्यांकनको घडीका रूपमा व्याख्या गर्दै लेख्नु भएको छ ‘आज धेरै कुरा बदलिएका छन्, तर हाम्रो बाटो बदलिएको छैन, षड्यन्त्रका अदृश्य छायाले हाम्रा उज्याला सपनाहरूलाई निस्तेज बनाए, तर हामी हावामा उड्ने धुलो होइनौँ, हामी ती वृक्ष हौँ, जुन आँधी र बिजुलीमा पनि आफ्नो जरा अझ गहिरो गाड्छ।’
उहाँले विद्यार्थी आन्दोलनका क्रममा ‘विद्यार्थीको रगतको मूल्य’ प्रति प्रश्न उठाउँदै संगठनभित्र आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्नुभएको छ । ‘यन्त्र र षड्यन्त्रका अदृश्य हातहरूले हाम्रा विद्यार्थीको रगतको मूल्य कति तिरे ? अब प्रश्न हामीले गर्ने हो’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
कंडरियाले हाल नेकपा (एमाले) भित्र देखिएको मतभेद र सङ्कटप्रति चिन्ता व्यक्त गर्दै एकता र अनुशासनमा जोड दिनुभएको छ। ‘यति बेला हाम्रो पार्टी नेकपा (एमाले) निकै संकटमा छ र हामीलाई बलियो एकताको खाँचो छ, फुट्ने र फुटाउन खोज्नेहरूलाई इतिहासले गद्दार साबित गर्नेछ’, कंडरियाकाे धारणा छ ।
उहाँले पार्टी र संगठनभित्रबाट विभिन्न कारणले अलग रहेका पूर्वसाथीहरूलाई ‘घर फर्क अभियान’ अन्तर्गत पुनः फर्कन अनुरोध गर्नुभएको छ । ‘ केही कारणवश नेकपा (एमाले) र अखिलबाट बाहिर रहनु भएका सम्पूर्ण कमरेडहरूलाई आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्दछु, आउनुहोस्, घर फर्कनुहोस्- घर यहीँ छ, विश्वास यहीँ छ, साथ यहीँ छ।’
कंडरियाले संगठनप्रति गहिरो भावनात्मक निष्ठा प्रकट गर्दै लेख्नुभएको छ- ‘हामीसँग भएका घाउहरू साक्षी छन्- हामीलाई भत्काउन कति षड्यन्त्र चले, तर हामी असहाय छैनौ, हारिएका छैनौँ, टुटेका छैनौँ, फर्केर आउनुहोस्, घर अझै उस्तै छ, हाम्रो झण्डामा अझै उस्तै साहस छ, हाम्रो हातमा अझै उस्तै भविष्य छ।’
‘एक आवाज, एक संकल्प, एक दिशा’ भन्ने नारासहित अध्यक्ष कंडरियाले अन्त्यमा संगठन र पार्टीप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्याउँदै भन्नु भएकाे छ- ‘नेकपा (एमाले) जिन्दावाद ! अनेरास्ववियु जिन्दावाद !’













प्रतिक्रिया दिनुहोस्