जनता टाइम्स

२९ कार्तिक २०८२, शनिबार १२:१९

गोकर्णलाई साथमा राखेर एमाले उपमहासचिव प्रदीपले सुनाए पार्टी रुपान्तरणको खाका


गुल्मी, कात्तिक २९ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

गृहजिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको पनि प्रष्ट पार्नुभयो ।

एमाले उपमहासचिव ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःउर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने र पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको जानकारी पनि दिनुभयो । हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको र सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएकोप्रति भने ज्ञवाली निकै कठोर बन्नुभयो ।

पत्रकार सम्मेलनमा एमाले सचिव गोकर्ण बिष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललगायतका नेताहरु पनि सहभागी हुनुभएको थियो । पार्टीको जनसभाका लागि उपमहासचिव ज्ञवाली, सचिव बिष्ट जिल्लाका सवै नेताहरुलाई साथमा लिएर गृहजिल्ला आउनु भएको हो ।