जनकपुर, कात्तिक ३० । मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै परेको रिटमा प्रभाव पार्न आज पनि सात राजनीतिक दलले धर्ना दिएका छन्।
आइतबार बिहानैदेखि नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित कार्यकर्ताहरू मधेश भवन अगाडि धर्ना दिएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा ३ मा प्रवेश गरी ठुलो दलको हैसियतले एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कात्तिक २४ गते देखि सात दलले विरोध गरिरहेका छन । संबिधानअनुसार गरिएको नियुक्तिलाई प्रभावित पारेर असंबैधानिक बाटो दिनुपर्ने ती दलका सांसदको माग छ ।
सडक संघर्षसँगै सात दलका ७४ जना सांसदले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमा सुनुवाइ प्रभावित पार्न धर्नामा बसेको सांसदहरूले नै स्वीकार गरेका छन । ‘हामी अदालतको फैसला कुर्दै शान्तिपूर्ण धर्नामा बसिरहेका छौं, धर्ना फैसला हाम्रो पक्षमा निर्णय हुनुपर्न भनेर नै गरिएको हो,’ जसपा नेपालका प्रमुख सचेक राम अषिश यादवले भन्नुभयो ।
सर्वोच्च अदालतले यसअघि दीर्घकालीन असर पर्ने काम नगर्न–नराउन सरकारलाई अन्तरिम आदेश दिइसकेका छन । सात दलले मुख्यमन्त्रीको शपथको बिषय भने उठाएका छैनन । यसअघि पनि प्रदेश प्रमुखको कार्यालयमा नभई अन्यत्र शपथ खुवाएको र आफैले सो काम गरेको कारण उनीहरुले शपथको दावी नगरेका हुन ।
मधेश प्रदेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको तथ्यलाई जनताटाइम्स डटकमले यसअघि नै उजागर गरिसकेको छ । अघिल्ला मुख्यमन्त्रीहरु जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउत, जसपाकै सरोजकुमार यादव, जनमत पार्टीका सतिशकुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्रप्रसाद सोनार (सोनल) ले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको तथ्य फेला परेको हो ।
वर्तमान राजनीतिक परिस्थितीमा मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले महोत्तरीको एक होटलमा शपथ लिएको भन्दै आलोचना भएपछि खोजीनीति गर्दै जाँदा अघिल्ला मुख्यमन्त्रीहरूको शपथको तथ्य बाहिर आएको हो ।
तात्कालिन मुख्यमन्त्रप् लालबाबू राउतले चुरोट फैक्ट्रीभित्रको खेल मैदानमा, जसपाका सरोजकुमार यादवले मधेश प्रदेश भवन मुख्यमन्त्री कार्यालयको चौरमा, सतिशकुमार सिंहले चुरोट फैक्ट्री भित्रको कवड हलमा र जितेन्द्र प्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको निवासमा शपथ लिइएको विषय चर्चामा आएको हो ।
गत कात्तिक २३ गते निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ३ बमोजिम सवैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्